भारतले पठायो १० लाख डोज कोरोनाविरुद्धको खोप
अखबार टुडे
प्रकाशित:
२०७७, ८ माघ

काठमाडौं, ८ माघ । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको १० लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । उक्त खोप बिहीबार नै नेपाल आइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले बिहीबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रमबीच खोप हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरे । उनले भने, ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु ।’
निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताए । खोप शुक्रबारबाटै सम्बन्धीत क्षेत्रमा पु¥याइने बताइएको छ ।

प्रतिक्रिया