सांसद किनबेचको खेल सुरु भएकाले प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली
अखबार टुडे
प्रकाशित:
२०७७, ८ माघ

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल सुरु भएकाले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान बाध्य भएको बताएका छन् ।
बिहीबार नेपाल ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको समेत दावी गरे । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने, ‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ ।’
उनले अगाडि थपे, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।’
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे । प्रतिनिधिसभा विघटनपछि पत्रकारहरुले आलोचना गरेकोप्रति लक्षित गरेर उनले यस्तो बताएका हुन् ।
यस्तै समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस संठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।

प्रतिक्रिया