राष्ट्रपति बाइडेनले ट्रम्पका दर्जनौँ नीतिहरु उल्टाए : मेक्सिको सीमामा वाल लगाउन कार्य बन्द
अखबार टुडे
प्रकाशित:
२०७७, ८ माघ

काठमाडौं, ८ माघ । नवनिर्वाचत अमरिकी राष्ट्रपति जो बाइडनले कार्यकालको पहिलो दिनमै कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन् । उनले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका झण्डै दुई दर्जन निर्णय उल्टाएका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका हुन् ।
‘हामीले सामना गरिरहेको संकटसँग जुध्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’ सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए । उनले कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन् । उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ ।
कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पु¥याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन् ।’

कोरोनाभाइरस महामारी
चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुध्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन् । तिनका मुख्य बुँदा यसप्रकार छन् :
– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने । भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने ।
– कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने ।
– सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने ।
– आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने
राष्ट्रपति बाइडेनले जलवायु सम्बन्धीका कतिपय ट्रम्प प्रशासनका नीतिहरू पनि उल्ट्याउन चाहेका छन् । त्यसको निम्ति उनको आदेशमा भनिएको छ :
सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए ।
त्यस्तै आप्रवासनको विषयमा आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन् । ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेका छन् । त्यस्तै, मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य पनि तत्काल बन्द गर्ने निर्णय गरेका छन् । (बिबिसीबाट)

प्रतिक्रिया