कोभिड-१९ विरुद्धको खोप : भारतले १० लाख डोज दिँदै, बिहीबार नै खोप आउँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ७ माघ

काठमाडौं, ७ माघ । भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएको हो । खोप बिहीबारदेखि नै आउने छ ।

मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप (बिहीबार) नै काठमाडौं आइपुग्ने जानकारी दिए । भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ । बुधबार भुटान र माल्दिभ्समा खोप पठाइएको छ । नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए । भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया