ओलीको भाषामा पुर्वराजाकै भाषा ह्वास्सै गन्हाएको छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, ६ माघ

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना गर्ने प्रकृया सुरुवात गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेर जनताको दिएको जनादेशको हत्यामा मात्र नभएर राजतन्त्र पुनःस्थापन प्रकृयाको सुरुवात गरेको अध्यक्ष प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भाषामा समेत पुर्वराजाकै भाषाजस्तै ह्वास्सै गन्हाएको समेत बताए । अध्यक्ष प्रचण्डले भने, ‘पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटनमात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको छ ।’ उनले भने, ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’
अध्यक्ष प्रचण्डले ओलीलाई कुपात्रको संज्ञासमेत दिएका छन् । उनले प्राप्त उपलब्धिलाई समाप्त पार्ने काम कुपात्रले मात्रै गर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली कुपात्र भइसके । हामीले बनाएका होइनौँ । उहाँ आफै कुपात्र बन्नु भएको हो । केपीले गर्ने जस्तो काम कुपात्रले मात्र गर्न सक्छ ।’

प्रतिक्रिया