रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग
अखबार टुडे
प्रकाशित:
२०७७, ५ माघ

बर्लिन, ५ माघ (एएफपी) । रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् ।
जर्मनीमा उपचारपछि स्वदेश फर्किनुभएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गर्नु भएको छ । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु)द्धारा पनि माग भएको छ ।
क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो ।
गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ । उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार त्यहीँ आराम गरिरहेका थिए ।
रूसी प्रशासनले उहाँलाई स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उहाँ राजधानी मस्को जानुभएको हो । क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताएका थिए ।
उनी आइतबार ग्रीनवीच समयानुसार साँझ बर्लिनबाट मस्कोका लागि जाँदै थिए । मस्कोको भेनुकोभो विमानस्थलमा उहाँ चढेको विमान अवतरण हुने बताइएको छ । रूसी प्रशासनले उहाँलाई जेलबाट छुट्दा गरेको प्रतिवद्धता उल्लंघनको आरोपमा पुनः पक्राउ गरी छानविन हुनसक्ने बताएको छ ।

प्रतिक्रिया