नेपालमा नयाँ दुई प्रजातिका चरा भेटिए
अखबार टुडे
प्रकाशित:
२०७७, ५ माघ


सौरहा, ५ माघ । नेपालमा नयाँ प्रजातिको चरा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नयाँ दुई प्रजातिका चरा भेटिएका हुन् । ती चराहरु अघिल्ला वर्षहरुमा भेटिएका थिएनन् ।
बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार यस वर्ष भेटिएका चरामा डोनलिन र नर्थेन ल्याकुन रहेका छन् । डोनलिन माडीको रिउ खोला र ल्याकुन दिव्यनगरको फार्मल्याण्डमा भेटिएको उनले जानकारी दिए । गत वर्ष देखिएका चार प्रजातिका चरा भने यस वर्ष देखिएनन् । यस वर्ष नयाँ दुईसहित ५३ प्रजातिका पानी चरा भेटिएका हुन् । गत वर्ष ५७ प्रजातिका चरा भेटिएका थिए ।
यस्तै गत वर्ष भेटिएका एभोसेट, हुग्लिगल, उटस्यान्ट पाइपर, ग्रेल्याकुम, प्यासिफिक गल्डेन प्लोओर र ब्ल्याक हेडेड इडिस भने यस वर्ष नभेटिएको बिडारीले बताए । यस क्षेत्रमा १६० प्रजातिका पानी चरा भेटिने गरेको तथ्यांक छ ।
हाल भेटिएका नयाँ चरा पनि अघिल्ला वर्षहरुमा भेटिएका चरामा पर्दछन् । नेपालमा पानी र बाहिर क्षेत्रमा गरी कूल ८८७ प्रजातिका चरा पाइन्छन् । तीमध्ये चितवन मात्रै ६४१ प्रजातिका चरा पाइन्छन् ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिएको थियो ।

प्रतिक्रिया