ओलीभित्रको रोग कतै सर्छ कि भनेर डर लागिरहेको छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, ४ माघ

काठमाडौं, ४ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई जनताले नभएर नेपाल कम्युनिस्ट पार्टी प्रधानमन्त्री बनाएको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘केपी ओली जनता चाहेर होइन, पार्टीले प्रधानमन्त्री बनाएको हो ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिँड्न नसक्ने बताए । ‘हामी तपाइँको बाटोमा हिँड्न सक्दैनौँ, तपाइँले रोजेको पतनको बाटो हो । त्यो बाटो हामीलाई स्वीकार्य छैन ।’ उनले ओलीभित्रको रोग कतै आफूलाई सर्छ कि भनेर डर लागिरहेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले भोलीको नेपाल उनले युवाहरुको काँधमा रहेको बताउँदै देश दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गरे । उनले भने, ‘विगतका आन्दोलनमा पनि युवाहरुको सशक्त भूमिका रहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनलाई सफल पार्न युवाको जोशजागर चाहिन्छ ।’
लामो संघर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटनले देश नै स्तब्ध भएको भएको छ ।’
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले पहिलो चरणको आन्दोलन सकाएर दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध यो समूह सडक संघर्षमा उत्रिएको हो । यस्तै, प्रतिनिधिसभा विघटनविरुधका मुद्धामा अहिले सर्वोच्चको संवैधानिक इजालसमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया