मध्यपूर्वी तराईमा अचाक्ली चिसो : जनजीवन कष्टकर
अखबार टुडे
प्रकाशित:
२०७७, ४ माघ

महोत्तरी, ४ माघ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको छ । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन ।
जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् । ‘बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्’, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले भने, ‘अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, पूmल र कोसा पनि कक्रक्क परेका छन् ।’ बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताउँछन् । कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता जनाउँछन् ।
लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ । ‘न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ’, जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहालले भनिन्, ‘यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।’ आफ्ना गोठका सात भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको उनको भनाइ छ ।
लगातार मौसम चिसिँदै जाँदा बजारु चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ । मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनै पर्ने भएपछि आपूmहरु मूल्यको मारमा परेको बजारु उपभोक्ता बताउँछन् ।

प्रतिक्रिया