चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न ओलीलाई माधव नेपालको चेतावानी
अखबार टुडे
प्रकाशित:
२०७७, ३ माघ

दाङ, ३ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड र आफ बीच कुनै असमझदारी नरहेको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको समेत बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रचण्ड र आफूप्रति अविश्वास सिर्जना गर्न केपी ओली गुटले प्रयास गरिरहेको समेत आरोप लगाएका छन् । उनले प्रतिनिधिसभा विघटन गरेपछि केपी ओली एक्लिँदै गएको बताए । उनले भने, ‘ओली सबैतिरबाट एक्लिँदै गएको छ ।’ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि बताए ।
नेता नेपालले नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जनताले अब साथ नदिने दावी गर्दै भने, ‘मुल पार्टी हामीहरु हौँ ।’ उनले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न समेत ओलीलाई चेतावानी दिएका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको बताउँदै नेता नेपालले भने, ‘अहिले संविधान विरोधी शक्तिहरुको चलखेल बढ्दै गएको छ ।’ पत्रकार सम्मेलनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र कृष्णबहादुर महरालगायतको पस्थिति थियो ।

प्रतिक्रिया