प्रदेश-१ को नाम जुरेन, मुख्यमन्त्रीको लगन जुर्यो
अखबार टुडे
प्रकाशित:
२०७७, ३ माघ

काठमाडौं, ३ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ‘मिस मंगोल नेपाल-२०१८’की विजेता ज्याङ्मु शेर्पाले यही ११ माघमा लगनगाँठो कस्दैछन् । स्रोतका अनुसार उनीहरुको प्रेम विवाह हो । ढेड वर्ष भन्दा लामो प्रेमलाई मुख्यमन्त्री राई र मंगोल सुन्दरी शेर्पाले विवाहमा परिणत गर्न लागेका हुन् । यो विवाहले प्रेममा उमेर र वर्ग हुँदैन भन्ने भनाइलाई समेत पुष्टि गरेको छ ।
मुख्यमन्त्री राईको सचिवालयले विवाहको पुष्टि गरिसकेको छ । यसअघि मुख्यमन्त्री राईको यही ११ र १२ माघमा काठमाडौं र विराटनगरमा विवाह समारोह आयोजना हुने बताइएपनि युवतीको परिचय गोप्य राखिएको थियो । मुख्यमन्त्रीजस्तो सार्वजनिक पदमा भएका व्यक्तिको विवाहको खबर सार्वजनिक भएसँगै ज्याङ्मु शेर्पाको नाम खुलेको हो ।
पुर्खौली घर संखुवासभाकी ज्याङ्मु शेर्पा ‘मिस मंगोल नेपाल’को ताज जितेसँगै चर्चामा आएकी हुन् । मुख्यमन्त्री राई र ज्याङ्मुबीच पहिलोपटक देखभेट पनि मिस मंगोलकै कार्यक्रममा भएको थियो । एक्शन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल’मा त्यतिखेर राई अतिथिका रुपमा सहभागी भएका थिए । स्रोतका अनुसार त्यो बेलामै राईले जाङ्मुको बारेमा चासो लिएका थिए । तर, दोस्रो भेटमा मात्र नजिकबाट बोल्ने अवसर पाएका थिए । जाङ्मुमा सानैदेखि प्रतिभाशाली थिइन् । आफ्नो प्रतिभाकै कारण उनले १३ वर्षकै उमेरमा ‘मिस किड क्विन नेपाल’मा भाग लिइन् । ‘मिस ई कलेज’, ‘मिस एसएलसी’लगायत विभिन्न ब्युटी प्याजेन्ट हुँदै जाङ्मुले सन् २०१८ मा ‘मिस मंगोल नेपाल’को उपाधि जित्न सफल भएकी हुन् । ज्याङ्मुले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । हाल काठमाडौंमा बस्दै आएकी जाङ्मुका बाबु–आमा भने अमेरिकामा छन् ।
मुख्यमन्त्री राई विद्यार्थी संगठनबाट राजीनीतिमा प्रवेश गरेका हुन् । भोजपुरको दक्षिणी क्षेत्रमा आमचोक गाउँपालिका–३ मा जन्मिएका राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका हुन् । त्यसपछि अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने । २०५४ सालमा एमाले विभाजनपछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने मौका पाएपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने । २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बने ।
२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित राई दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरेका थिए । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलोपटक सूचना तथा सञ्चारमन्त्री भएका थिए । लगातार राजनीतिमा छलाङ मार्दै आएका राई ०७४ सालसम्म आइपुग्दा प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए ।
२०७५ साल २५ चैतमा बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नाम जुराएपछिमात्रै बिहे गर्ने वाचा गरेका थिए । अहिलेसम्म पनि प्रदेश राजधानी विराटनगर कायम भएपनि प्रदेशको नाम जुर्न सकेको छैन । अब ज्याङ्मुसँग लगन जुरेसँगै प्रदेश १ को नाम पनि जुर्ला कि ?
मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह आफ्ना नजिकका नातदार, शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र केही कर्मचारीलाई भोज दिने तयारी गरिएको छ ।
विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्चअधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थप्रै उदाहरण छ । अमेरिकाको वर्तमान राष्ट्रपति डोनाल्ट ट्रम्पकी दोस्रो पत्नी मेलनिया पनि एक चर्चित मोडल हुन् । अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेको हुन् । यो नेपाली राजनीतिबृत्तका लागि सम्भवः पहिलो र नौलो हुनसक्छ ।

प्रतिक्रिया