आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
अखबार टुडे
प्रकाशित:
२०७७, २ माघ


काठमाडौं, २ माघ । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नारासहित आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले यो दिवस सरकारले मनाउन सुरु गरेको थियो । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा कार्यक्रमको आयोजना गरिएको छ । आज बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा प्रमुख आतिथिको रुपमा सहभागी हुने जनाईएको छ ।
कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुने कार्यक्रम छ । भूकम्पीय सुरक्षा सम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधिमार्फत् आयोजना कार्यक्रम रहेको छ ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान(प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाईदै आएको हो ।

प्रतिक्रिया