आज मकर संक्रान्ति : राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना
अखबार टुडे
प्रकाशित:
२०७७, १ माघ

काठमाडौं, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले १ माघलाई माघे (मकर) संक्रान्ति भनिन्छ । १ माघेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँ“दै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ ।
तराईवासीले १ माघलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा १ माघमा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांक निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिको कामना गर्दै यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक, सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

प्रतिक्रिया