नौ महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, २७ पुष

काठमाडौं, २७ पुस । सुन्दा धेरैलाई पत्यार नलाग्ला । तर, वास्तविकता यही हो । देशका प्रधानमन्त्री केपी ओली ९ महिनादेखि सिंहदरबार गएका छैनन् अर्थात प्रधानमन्त्री ओलीले कार्यालय जाने मनै गरेका छैनन् । २०७६ फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणको नौ दिनपछि २ चैतमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेका थिए । त्यसयता उनी सिंहदरबार नगएका नेपालखबरले समाचार लेखेको छ ।
नेपालखबरमा प्रकाशित समाचारअनुसार त्यसलगत्तै कोरोना संक्रमण फैलियो । त्यसपछि ११ चैतदेखि देशव्यापी लकडाउन गरियो । लकडाउनमा प्रधानमन्त्री बाहिर निस्किने कुरै आएन । त्यसयता ओलीले महत्वपूर्ण बैठकहरु प्रधानमन्त्री निवासमै राख्दै आएका छन् । कतिसम्म भने धुम्बाराहीस्थित पार्टी कार्यालयमा राखिएको बैठकमा समेत जान उनले अस्वीकार गरिदिए । त्यसैले उनकै लागि भनेर बैठक पटकपटक बालुवाटारमै सारिएको थियो ।
नेकपाको धुम्बाराही कार्यालयका एक नेताका अनुसार ओली आउने भनेर पुरै हल डिसइन्फेक्ट गरिएको थियो । दुरी कायम गरेर कुर्सीको व्यवस्थापन गरिएको थियो । तर, ओली गएनन् । यसबीचमा नेकपाको अधिकांश बैठक बालुवाटारमै बस्यो ।
स्वास्थ्यको कारण देखाउँदै आफ्नै कार्यालय जान नचाहेका प्रधानमन्त्री पछिल्लो समय कार्यक्रममा सहभागी हुन पूर्वको किमाथांकादेखि पश्चिम धनगढीसम्म पुगेका छन् । अहिले पनि कोरोना संक्रमणको जोखिम घटेको छैन । तर, पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ओलीको दौडधुप निकै बढेको छ ।
पार्टी फुट्ने निश्चित भएपछि ओली संगठन विस्तार अभियानमा लागेका छन् । हजारौँको भीडलाई घण्टौँ लगाएर सम्बोधन पनि गरिरहेका छन् । पुस १५ गते बबरमहलमा रहेको कार्की ब्यांक्वेटमा पुगेर प्रधानमन्त्री ओलीले झण्डै हजार बढीको भीडलाई एक घण्टा सम्बोधन गरे । पुस १९ गते पनि ओलीले सोही ठाउँमा उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । उनी पुस १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी भएका थिए भने पुस २५ मा युवा संघको बागमती प्रदेशस्तरको भेलालाई प्रज्ञामै पुगेर सम्बोधन गरे । पुस २४ मा धनगढीमा गएर ओलीले बृहत् जनसभालाई पनि सम्बोधन गरे । तर, अझै उनी सिंहदरबार जान चाहेका छैनन् ।

प्रतिक्रिया