जेसुम यात्रा : ‘देशभित्र घुमौँ, आफैँलाई चिनौँं’
अखबार टुडे
प्रकाशित:
२०७७, २७ पुष


भक्तपुर, २७ पुस । चित्र, साहित्य र रंगमञ्चमार्फत स्थानिय कला, सम्पदा र संस्कृतिलाई उजागर गर्दै राष्ट्रिय संस्कृति निर्माणमा सघाउने उदेष्य बोकेको स्रष्टाहरुको अभियान ‘जेसुम यात्रा’को १३औं श्रृंखला भक्तपुरमा सम्पन्न भएको छ ।
‘देशभित्र घुमौँ, आफैँलाई चिनौँं’ सन्देशसहित साहित्यकार, चित्रकार र रंगकर्मीहरु शुक्रबार विहानै भक्तपुर दरबार स्क्वायर पुगेका थिए । उनीहरुले लिच्छवी र मल्लकालीन सम्पदाहरु अवलोकन गर्दै आ–आफ्ना विधामा प्रत्यक्ष सिर्जना रचना गरे ।
विश्व सम्पदा सूचीमा रहेको प्राचीन एवं सम्पदा नगरी भक्तपुर दरबारस्क्वायरको लामपाटी फल्चामा बसेर चित्रकारहरुले सुनको ढोकासहितको पचपन्न झ्याले दरबार क्यानभासमा उतार्दै गर्दा साहित्यकारहरुले कवितामा भक्तपुरको ऐतिहासिकता र वर्तमान विचलनलाई अभिव्यक्त गरे । पाँचतले मन्दिर, दत्तात्रय, राष्ट्रिय कला संग्रहालय लगायतका सम्पदा क्षेत्र घुम्दै सिर्जना गरेका स्रष्टाहरुले आधुनिकताको नाममा भक्तपुरले गुमाउँदै गएको आफ्नो मौलिक पहिचानप्रति चिन्ता प्रकट गरे ।
स्रष्टाहरु सिर्जनामा व्यस्त भइरहेकै बेला प्रधानमन्त्रीपत्नी राधिका शाक्य हौसला प्रदान गर्न पुगिन् । उनले सम्पदास्थलको भ्रमण गर्दैै चित्रहरुको लाइभ क्यानभास अवलोकन गरिन् । ‘तपाइँहरुको यो अभियानबारे दुईबर्ष अघि नै सुनेकी थिएँ, बल्ल आज हेर्ने र बुझ्ने मौका मिल्यो’, प्रत्यक्ष सिर्जनापछि होटल बज्रमा आयोजित रचना बाचन कार्यक्रममा प्रधानमन्त्रीपत्नी शाक्यले भनिन्, ‘मुलुकको संस्कृति संरक्षणमा सबैले आ–आफ्नो थलोबाट यस्तै सकारात्मक र सिर्जनशील प्रयास गर्नुपर्छ ।’
जेसुम यात्राबारे प्रकाश पार्दै अभियानकी संयोजक एवं कवि अनिता लामाले सकारात्मक र सिर्जनशील प्रयासकै क्रममा जेसुम जन्मिएको बताउँदै मुलुकको ‘फस्ट लेडी’को हौसलाबाट थप उत्प्रेरित बनेको बताइन् । यसपछि कविता बाचनको श्रृंखला शुरु भयो । कवि स्नेह सायमीले भक्तपुरबाट विस्तारै ‘हाकु छोयला’ गुमनाम हुँदै गएजस्तै भक्तपुरको मौलिक पहिचानपनि एक दिन हराउन सक्नेप्रति कवितामा चिन्ता प्रकट गरे । कवि अनन्त वाग्लेले खर्पनलाई प्रतीक बनाएर आधुनिकताका कारण मुलुकले वेहोरिरहेको सांस्कृतिक अवसानप्रति व्यंग्य गर्दा अर्का कवि फूलमान वलले आइसक्रिमको कारण विस्थापित जुजुधौ दहीको मर्मलाई कवितामा जोडे ।
कवि अनिता लामाले पसलको होर्डिङबोर्डदेखि मान्छेहरुको नाममा समेत आएको परिवर्तनलाई कवितामा समेट्दै भक्तपुरको मौलिक संस्कृतिप्रति चिन्ता जनाइन् । कवि एवं रंगकर्मी रोजिना बुद्धाचार्यले कुनैसमय हजुरबुबासित भक्तपुरमा घाम ताप्दै खेलेको सम्झिन् र पुरानो सम्झनाभित्र पसेर भक्तपुरमा अहिले आएको परिवर्तनलाई अभिव्यक्त गरिन् । कवि अस्मिता मानन्धरले माटो भाँडो बनाउने चक्र र भाँडो बन्नुअघि र पछिको माटोलाई जीवनसँग तुलना गर्दै कविता सुनाइन् । त्यस्तै कवि गणेश बुढाले पनि साँस्कृतिक विम्ब र बिषयलाई आफ्नो सिर्जनामा प्रकट गरे ।
कविताले पत्रकारलाई पनि छोडेन । संचारकर्मी बालकृष्ण बस्नेत, रमेश गिरी र मनोहरी थापाले पनि सिर्जना सुनाए । सेलो थिएटरका सन्तोष तामाङले गीत गाए ।
कार्यक्रमको अर्को आर्कषण थियो चित्रकला । चित्रकार दिपेन्द्र बनेपालीले क्यानभासमा सालिकजस्ता दुइटा आकृति उतारेर संस्कृति हस्तान्तरणको सवालमा दुइपुस्ते मनोविज्ञान प्रस्तुत गरे । चित्रकारहरु चन्द्रा श्रेष्ठ, राजेन्द्र याकामी, लक्ष्मीप्रसाद खोतेजा, राधेश्याम कर्माचार्य, पूण्यराम मतां, कान्छाकाजी भासिमाले दरबारस्क्वायरको सुन्दर दृष्यचित्र क्यानभासमा उतारे । झण्डै दुइघण्टाको अवधिभित्रै चित्रकारहरुले यथार्थवादीशैलीका चित्रहरु कोरेका थिए ।

प्रतिक्रिया