भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २५ पुष

काठमाडौं, २५ पुस । भारतको महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको थियो । उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ ।
अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ । मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो । त्यसपछि अस्पतालका वरिष्ठ अधिकारीहरूलाई घटनाबारे खबर दिइएको थियो ।
जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ । भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन् । शल्य चिकित्सक प्रमोद खाण्डेतले बताएअनुसार तीन÷चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको बताएका छन् ।
टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए ।
यसैबीच
यसैबीच कंग्रेस नेता राहुल गान्धीलेघटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै बच्चाहरूको मृत्युप्रति दुःख व्यक्त गरेका हुन् । यस्तै, गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ’यो एकदमै दुर्भाग्यपूर्ण हो । म यस घटनाबारे निकै दुखी छु । पीडित परिवारप्रति मेरो संवेदना छ । यो अपूरणीय क्षतिमा ईश्वर पीडित परिवारलाई दुख सहने शक्ति दिऊन् ।’’ (बिबिसीबाट)

प्रतिक्रिया