प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भन्नेहरुलाई संविधान पढ्न ओलीको सुझाव
अखबार टुडे
प्रकाशित:
२०७७, २४ पुष

धनगढी, २४ पुस । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कसनै सम्धीवाला र छोरीवाला पार्टी नभएको बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आफू निकट नेकपाको बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी होइन ।’ यो व्यंग्य नेकपाबाट अलग भएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्षित थियो ।
प्रचण्ड र नेता नेपालले पार्टी आफ्नो भएको दाबी गरेकोप्रति समेत उनले व्यंग्य गर्दै पार्टी हाम्रो भनेर गफ नगर्न प्रचण्ड–नेपाल समूहलाई सुझाव दिए ।
‘जसलाई छोरीको मतलब छ । जसलाई बुहारीको मतलब छ । जसलाई जनताको मतलब छैन’ ओलीले भने, ‘जसलाई आफन्तको मतलब छ । तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ?’ ओलीले नेकपा आफ्नो भन्न पहिला उनीहरुले मन र मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेलाई उनले संविधान पढ्न समेत आग्रह गरे । प्रचण्ड र नेपालले असंवैधानिक भनेर हल्ला चलाएकोसमेत बताउँदै भने, ‘प्रतिनिधिसभाको विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई संविधान पढ्न आग्रह गर्छु ।’ ओलीले ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म सर्वसम्मत देशको आफू प्रधानमन्त्री भएको बताउँदै भने, ‘मैले विघटनको सिफारिस गरिसकेपछि प्रतिनिधिसभामा अर्को विकल्प छैन । फेरि प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा कुनै हिसाबले पनि ठिक छैन । अब प्रतिनिधिसभा चुनाव गरेर आउँछ ।’

प्रतिक्रिया