ट्रम्पले हार स्वीकार नगर्दा : वाशिङ्टन डिसीमा कर्फ्यू
अखबार टुडे
प्रकाशित:
२०७७, २३ पुष

वाशिंगटन डिसी, २३ पुस (एजेन्सी) । राष्ट्रपति डोनाल्ट ट्रम्पको निर्देशनमा अमेरिकी संसद भवनमा हंगामा भएको छ । अहिलेसम्म हार स्वीकार्न नगरेका ट्रम्पले राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासले गर्दा हिंसा मच्चिएको हो । उक्त हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको बेला ट्रम्प समर्थकले आक्रमण गरेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौँ समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरेका थिए ।

प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरी अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रिएको थियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लागी घाइते भएकी थिइन् । उनको अस्पतालमा मृत्यु भएको बताइएको छ । मृत्यु हुने ती महिलाको परिचय खुलेको छैन । करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ । यस हिंसाका बीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया