प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता-२०७७ शुरु
अखबार टुडे
प्रकाशित:
२०७७, २२ पुष

काठमाडौं, २२ पुस । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि शुरु भएको छ ।
नेपाली सेनाको भकालीस्थित मुख्यालय जंगी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन बुधबार पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् । पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए । उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरेका छन् । सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो हुनुभयो । विश्वकर्माले सो दौड १० दशमलव ८२ सेकेण्ड तथा विष्टले १० दशमलव ८२ सेकेण्डमा पूरा गरे ।
यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो भएका छन् । उनले सो दौड १३ दशमलव ४३ सेकेन्डमा पूरा गरेका थिए । सो स्पर्धामा पूर्वी पृतनाकी सिपाही मनिषा विक दोस्रो तथा मध्य पृतनाकी सिपाही विपना थारु तेस्रो भएका छन् । विकले उक्त दौड १३ दशमलव ५९ सेकेण्ड तथा थारुले १३ दशमलव ६७ सेकेण्डमा पूरा गरेका थिए ।
यसैगरी पुरुष आठ सय मिटर दौडमा उपत्यका पृतनाका सिपाही सुदीप शाह पहिलो भए । उनले सो दौड दुई मिनेट शून्य दशमलव ३३ सेकेण्डमा पूरा गरे । उक्त स्पर्धामा सुदूरपश्चिम पृतनाका सिपाही सुनिल सुनार दोस्रो तथा मध्य पृतनाका सिपाही बुद्धराम तामाङ तेस्रो भए । सुनारले सो दौड दुई मिनेट शून्य दशमलव ६२ सेकेण्ड तथा तामाङले दुई मिनेट एक दशमलव १४ सेकेण्डमा पूरा गरे ।
यस्तै महिला आठ सय मिटर दौडमा १६ नम्बर बाहिनी अड्डाकी गनर राधिका श्रेष्ठ पहिलो भएकी छन् । उनले सो दौड दुई मिनेट २८ दशमलव १९ सकेण्डमा पूरा गरेकी छ । उक्त स्पर्धामा मध्य पश्चिम पृतनाकी सिपाही निर्मला केसी दोस्रो तथा उपत्यका पृतनाकी सिपाही गीता विक तेस्रो भएकी छन् । उक्त दौड केसीले दुई मिनेट २८ दशमलव ७९ सेकेण्डमा तथा विकले दुई मिनेट २८ दशमलव ९८ सेकेण्डमा पूरा गरे ।
सो अवसरमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको आर्चरीतर्फ रोशन नगरकोटी उत्कृष्ट घोषित भएका छन् । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्नुहुँदै नेपाली सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठले कोरोना महामारीका कारण गत भदौमा सञ्चालन हुनुपर्ने प्रतियोगिता ढिला भएको जानकारी दिए । आगामी माघ २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ८ पृतना, ५ मद्दती बाहिनी, एक विशेष फौज बाहिनी तथा यान्त्रिक निर्देशनालय गरी कूल १५ टोलीको सहभागिता रहेको उनले बताए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, सुटिङ, बास्केटबल र फुटबल खेलमा महिला र पुरुष खेलाडीले आ आफ्ना खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल सेनाको छाउनी, भद्रकाली र लगनखेल मैदानमा सञ्चालन हुनेछन् । सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया