सुत्ने खाट पाएपछि कैदीबन्दी खुसी
अखबार टुडे
प्रकाशित:
२०७७, २२ पुष

दमौली, २२ पुस । सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् ।
कारागारमा बजेट अभावका कारण खाट राख्न नसकेपछि यहाँका कैदीबन्दी केही समय चिसो भूइँमा समेत सुत्न बाध्य भएका थिए । केही समयअघि राससमा ‘चिसो भूइँमा सुत्छन् कैदीबन्दीहरु’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय तहले सहयोगको लागि चासो देखाएका हुन् । सो समाचार प्रकाशित भएलगत्तै ब्यास नगरपालिकाले ४० थान एकल, म्याग्दे गाउँपालिकाले दुई जना क्षमताको ११ थान, बन्दिपुर गाउँपालिकाबाट पाँच थान, कास्की निवासी कृष्टिना गुरुङले दुई क्षमताको छ थान खाट सहयोग गरिसकेका छन् ।
जिल्लाका १० पालिकामध्ये अन्य सात पालिकाले पनि सहयोग गर्ने गरी प्रतिबद्धता जनाएको कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । कारागारमा स्थानीय तहले सहयोग गरेपछि कैदीबन्दीलाई सुत्न सहज भएको उनको भनाइ छ ।

महिला बन्दीगृह बनाइँदै

कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिए ।
ती दुई भवनलाई व्यवस्थित गरी महिला बन्दीगृह बनाउँदा ४० देखि ५० जनासम्म राख्न सकिने क्षमताको हुने उनले बताए । । उनले भने, ‘हाल सो भवनलाई क्वारेन्टिन बनाइएको छ भने क्वारेन्टिनमा छ जना बस्दै आएका छन् ।’ नयाँ आएका कैदीबन्दीलाई १० दिनसम्म क्वारेन्टिनमा राखेपछि कुनै पनि लक्षण नदेखिए मात्रै कारागारमा पठाउने गरिएको छ ।
महिला बन्दीगृहको लागि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई समेत जानकारी गराइसकिएको कार्यालयका निमित्त जेलर अधिकारीले बताए । हाल कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी कूल २६९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया