बेलायतमा फेरि देशभर लकडाउन : सबैलाई घरभित्र बस्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, २१ पुष

लण्डन, २१ पुस । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गर्नु भएको हो । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिए ।
कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तिव्र रुपमा फैलिन थालेको छ । प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् ।
उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । ‘नयाँ प्रकारको भाइरस तिव्ररुपमा फैलिएको छ, त्यसैले यो समय उच्च सतर्कता अपनाउनु पर्ने समय हो’ उनले भने । उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नु पर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् ।
एक टेलिभिजनमा बोल्ने क्रममा उनले देशभरी फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मंगलबारदेखि लकडाउन अन्तर्गत प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ । विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्किने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नु पर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ । अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट संक्रमितको संख्या ३० प्रतिशत बृद्धि भएको बताइएको छ । -एजेन्सी

प्रतिक्रिया