बेलायती एक न्यायाधीशले भने, ‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिँदैन’
अखबार टुडे
प्रकाशित:
२०७७, २० पुष

लण्डन, २० पुस (एजेन्सी) । अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले सोमबार गरेका छन् ।
गोप्य कागजातलाई अनलाइनमा छापेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लण्डनलाई दवाव दिँदै आएको छ । ‘अष्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिनसक्ने दवाव देखिएकोले मैले उनको रिहाइ गर्न आदेश दिन्छु’ जिल्ला न्यायाधीश भेनेसा बाराएत्सेरले भनेका छन् ।
उनले भने, ‘उनलाई यदि संयुक्त राज्य अमेरिकामा हिरासतमा लिइएको खण्डमा असान्जले स्वतन्त्र रूपमा मानिसहरूलाई भेट्न पाउने सम्भावना कम रहने साथै सामाजिक अन्तरक्रियाका लागि कम अवसर मिल्नेछ । यसले उनको बाह्य विश्वसँगको सम्पर्कलाई न्यून पारिदिनेछ र गम्भीर प्रतिबन्धको सामना गर्नु पर्नेछ ।’
चिकित्सकले मानसिक रोगी भएको पहिचान गरेका र आत्महत्याका लागि पटकपटक प्रयास गरेका व्यक्तिले शारिरिक जोखिम मोल्ने सम्भावना रहेको आदेशमा उल्लेख छ । असान्जलाई धरौटीमा रिहा गर्नुपहिले हिरासतमा राख्न भनिएको छ ।
यद्यपि अमेरिका र बेलायती अभियोजनकर्ताहरूले बाराएत्सेरको फैसलालाई अपील गर्न सक्नेछन् । असान्ज र उनको कानुनी टोलीले लामो समयदेखि प्रेस स्वतन्त्रताको प्रमुख कारण बनेको लामो मुद्दा राजनीतिक रूपले प्रेरित भएको दावी गर्दै आएको छ ।

प्रतिक्रिया