कोरोना अपडेट : विदेशमा थप तीन नेपालीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १९ पुष

काठमाडौं, १९ पुस । कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो ।
संघअन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या २० देशका ३१५ जना पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।
समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली संघ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा हालसम्म एक हजार ८७० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
यसैबीच हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।
विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरणसमेत जारी छ । स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।
बेलायतलगायतका मुलुकमा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औँल्याएको छ ।

प्रतिक्रिया