अफगानमा रक्तपात जारी रहेकै बेला कतारमा शान्ति वार्ता शुरु
अखबार टुडे
प्रकाशित:
२०७७, १९ पुष

काबुल, १९ पुस (एएफपी) । अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता सुरु भएको छ ।
महिनौँदेखि वार्ताको क्रम जारी रहेपनि त्यसबाट खाशै सफलता हात लागेको छैन, तर दुबै पक्षबीच गत वर्षका वार्ताहरुले आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ, जसलाई सुखद मानिएको छ ।

फाइल फोटो/एजेन्सी


अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेषरुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।
एक जना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, ‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौं किनभने मानिसहरु यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।’ तर तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन ।
महिनौँदेखिको ढिलाईपश्चात संघर्षरत पक्षबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा शुरु भएको थियो, तर छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो । अमेरिकी घनीभूत कुटनीतिक प्रयत्न पश्चात् दुबै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो ।
गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आक्रमणहरु भइरहेका छन् ।
काबुल प्रान्तका डेपुटी गभर्नर, पाँच जना पत्रकार र एक जना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् । तर अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ ।
‘तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरुमाथि योजनाबद्ध रुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोशिस गरिरहेको छ’ राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार जाभिद फैजलले भने, ‘तर यी हत्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।’
अफगानिस्तान अनुसन्धान तथा मूल्याँकन इकाईका उप निर्देशक निशंक मोतवानीको भनाईमा तालिबानले औपचारिक रुपमा राजनीतिक हत्याको जिम्मेवारी लिने गरेको छैन । मोतवानीले तालिबानीहरु आफ्नो बलियो उपस्थिति दर्शाउन कुनै कसर बाँकी राख्दैनन् भनेका छन् । तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए ।
गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् तर वार्ता बेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न । ‘काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिञ्जेल गुमाउँदै जानुपर्ने हो ?’ काबुल निवासी जमसिद मोहम्मदले भने ।

प्रतिक्रिया