‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने ?’
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी ओलीले विगठित संसद नव्यूतिने बताएका छन् । शनिबार आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘कसले भन्यो प्रतिनिधिसभा व्यूँतिन्छ भनेर ?’ उनले प्रचण्ड–माधव नेपाल समूहले कार्यकर्ता भेला गर्नमात्र प्रतिनिधिसभा व्यूँतातिने कुरा गरेको बताए ।
ओली पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई खिया लागेको नटबल्टुको संज्ञासमेत दिए । उनले भने, ‘उहाँहरुलाई पद चाहिएको छ । पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यंग्य गर्दै ओलीले भने, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने ?’ पार्टी एकता गरिएपनि काम गर्न नदिएको बताउँदै उनले प्रचण्ड–नेपालले आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दावी गरे ।
पार्टीको विधि र संविधानअनुसार आफूहरुले पार्टी चलाइरहेको पनि दावी गर्दै ओलीले भने, ‘प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको मलाई जानकारी छ, तर त्यो आन्दोलनको औचित्य छैन ।’ उनले आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको दावी गरे । उनले भने, ‘उहाँहरुले ओलीलाई पार्टीबाट हटाऔँ भनेर निर्वाचन आयोगमा पनि खबर गरेका छन् । निर्वाचन आयोगका आयुक्त साथीहरु कति हाँसे होलान् ।’ उनले आफू बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने ?’ भन्दै प्रचण्ड समूहलाई प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौति समेत दिएका छन् । प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने पनि बताए । ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो’ ओलीले भने । प्रचण्ड र माधव बाहिरिएपछि पार्टी सहजरुपमा अगाडि बढिरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलनलाई तलमाथि हुन नदिने र उचाइमा लगिछाड्ने उद्घोषसमेत गरेका छन् ।

प्रतिक्रिया