केपी ओलीलाई हटाउने षडयन्त्रकै कारण पार्टी विभाजनको अवस्थामा पुग्यो : उपप्रधानमन्त्री पोखरेल
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुगेको बताएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढंगले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताए ।
मजदूर विशेष जिल्ला कमिटीले काठमाडां आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे ।
उनले आफूहरु अझैपनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढंगले जवाफ दिन तयार रहेको बताए । प्रम ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ ।
उनले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको दावी गरे । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया