कारको ठक्करबाट पाटे बाघको मृत्यु, मोटरसाइकलबाट एक महिलालाई बाघले लग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

बारा, १८ पुस । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई शबिनार बिहान ठक्कर दिँदा मृत्युु भएको बताइएको छ ।
कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको जनाएको छ ।
यस्तै, बाराकै पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको बताइएको छ ।
कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला नपरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया