नेकपा विवाद : दुवै पक्षलाई थप प्रमाण पेश गर्न आयोगको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षलाई थप प्रमाण पेश गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपालाई शुक्रबार पत्राचार गर्दै आधिकारिकताको माग दाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ ।
नेकपा ओली पक्षलाई आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दुवै पक्षलाई पत्र पठाइएको तर त्यसमा लेखिएको विषयबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘आयोगको बैठकले गरेको निर्णयका विषयमा दुवै पक्षलाई जानकारी गराइएको छ,’ उनले भने, ‘दुवै पक्षबाट आएका पत्रहरूबारे बुझ्न खोजिएको मात्रै हो, अरू थाहा छैन ।’
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित भएको छ । तर, विभाजनले औपचारिकता पाइसकेको छैन । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् । ती पत्रका आधारमा मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न समस्या भएको आयोगले जनाएको छ । ‘बाहिर विवाद चर्किएको छ ।
अध्यक्ष दाहाल र नेपाल पक्षका नेताहरुले पुस १० मा आयोग पुगेर नेकपाको आधिकारिकतामाथि दाबी गरेका थिए । दाहालले केन्द्रीय कमिटीको दुई तिहाइ बढी बहुमत आफूहरूसँग रहेको उल्लेख गर्दै आधिकारिकताको विवाद छिटो टुंग्याउन आयोग पदाधिकारीलाई आग्रह गरेका थिए ।
आयोगले दाहाल–नेपाल पक्षलाई लेखेको पत्रमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) को व्यवस्थाबारे स्मरण गराइएको छ । उक्त दफामा दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यसमाथि आधिकारिकता माग गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने भनिएको छ ।
दाहालले आयोगमा र सार्वजनिक रूपमै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ३ सय १५ सदस्यको साथ आफूहरूसँग रहेको दाबी गरेका छन् । आयोग पुगेका बेला उनले आवश्यक परे उनीहरूलाई लाइन लगाएर उभ्याइदिनेसमेत बताएका थिए । कानुनअनुसार प्रक्रिया पूरा गरेर दलको मान्यताका विषयमा माग दाबी नआउँदा आयोग नेकपाको विवादभित्र प्रवेश नै गर्न सकेको छैन ।

प्रतिक्रिया