प्रधानमन्त्रीले किन झुठ बोले ?
अखबार टुडे
प्रकाशित:
२०७७, १७ पुष

काठमाडौं, १७ पुस । झण्डै दुई तिहाइको जनमत प्राप्त संसद विघटन गरिएपछि सत्तारुढ दलभित्रै नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । संसद विघटनसँगै सरकारले आगामी बैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेको छ । पार्टी दुई चिरा भइसकेको अवस्थामा पनि नेकपा कानुनीरुपमा एक छन् ।
प्रचण्ड–माधव समूहका प्रमुख नेताहरु निर्वाचन आयोग पुगेर बहुमत सदस्यको निर्णय मात्र जानकारी गराएनन्, आफूहरु नै आधिकारिक भएको दाबी गरेका छन् । ओली समूहले पनि आफ्फ्नो पक्षको केन्द्रीय कमिटी बैठक राखेर ११९९ सदस्यीय कमिटी बनाउने निर्णय गरी निर्वाचन आयोगमा पठाइसकेको छ ।
यसै अवस्थामा निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको मुद्दा सुरु भएको बताएका छन् । यो मुद्दामा निर्णय दिन ९० दिनसम्म लाग्न सक्ने आयोगले बताएको छ । तर, प्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–माधव समूहले दिएको निवेदन खारेज भएको दाबी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गर्दै सूर्य चिन्ह पनि आफूहरुसँग नै रहेको समेत बताएका थिए ।
उनले भने, ‘उहाँहरुले निर्वाचन आयोगमा निवदेन दिनुभएको रहेछ । आयोगले हिजो उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर फिर्ता पठाइदियो । उहाँहरुको आधिकारिक पार्टी हामी हौँ भन्ने दाबी थियो । त्यो दाबी निवदेनमा अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन पनि उल्लेख नभएको, केही प्रमाण नभएको यसको केही अर्थ छैन भनेर फिर्ता पठाइदियो ।’ यसै सिलसिलमा उनले सूर्य चिन्ह उनीहरुले आफूले पाउँ भनेर दिएको निवेदन निर्वाचन आयोगले अस्वीकार गरेको बताएका हुन् । ओलीले भने, ‘हामी निर्वाचन आयोग गएका छैनौँ र जान आवश्यक पनि छैन, किनभने हामी अधिकारिक हौँ । सूर्य चिन्ह हामीसँगै छ ।’
तर, निर्वाचन आयोगले भने प्रधानमन्त्री ओलीले दाबी गरेजस्तो कुनै निर्णय नभएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ, सहायक प्रवक्ता कोमलप्रसाद धमला र कानुन शाखा प्रमुख गंगा खरेलले एक अनलाइनसँग निर्वाचन आयोगमा दर्ता भएको निवेदन फिर्ता नहने बताउँदै मागदाबी पुगेको छ, छैन तोकिएको प्रक्रियाअनुसार हेरेर निर्णय हुने जनाएका छन् ।
अनलाइन खबरलाई दिएको प्रतिक्रियामा आयोगका सहप्रवक्ता धमलाले भनेका छन्, ‘निवेदन आएपछि दर्ता हुन्छ । दर्ता भएको निवदेन फिर्ता हुँदैन, मैले आयुक्तहरुसँग पनि सोधिसकेँ, उहाँहरु (प्रचण्ड–नेपाल समूह) को निवेदन फिर्ता भएको छैन ।’ नेकपाको दुवै समूह आरोप प्रत्यारोपमा उत्रिएका बेला प्रधानमन्त्री ओलीले अर्को पक्षलाई अत्याउन र आफ्नो पक्षको मनोबल बनाउन यस्तो झुट बोलेको हुनसक्ने एक अधिकारीले बताए ।

प्रतिक्रिया