यमनको बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १६ पुष

एडेन, १६ पुस (एजेन्सी) । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा आक्रमण भएको छ । बिहीबार सबेरै भएको आक्रमणमा तीनवटा बिस्फोट थियो । सो विष्फोटमा परी २२ जनाका मृत्यु भएको यमनको गृह मन्त्रालयले जनाएको छ ।
एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ । सरकारी अधिकारीहरुलाई बिमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ ।
यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् । राष्ट्रपति हादीले बिमानस्थलमा भएको बिस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् ।
यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ । खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।

प्रतिक्रिया