‘के चुनावमा जाँदा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता संकटमा पर्छ र ?’
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुर्नस्थापनाको व्यवस्था नभएको बताएका छन् ।
आफ्नो पक्षका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुर्नस्थापना नहुने ठोकुवा गरेका हुन् । उनले चुनावको तयारीमा जुट्न समेत आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे ।
यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वाेच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा अर्काे सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुर्नस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे । उनले भने, ‘म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुस्. चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।’
प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘के चुनावमा जाँदा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता संकटमा पर्छ र ? झन् बलियो हुने होइन र ?’ विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे । नेकपाभित्रको विवादका प्रसंगमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्काे पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया