साहित्य महोत्सवमा जलवायु परिवर्तनका कुरा : यस्तो छ निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

पोखरा, १५ पुस । नेपाल साहित्य महोत्सवको नवौँ संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफल भएको छ ।
कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो ।
वक्ताहरू वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा. महेश्वर ढकाल र वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्य थिए। जलवायु परिवर्तन र वातावरणको भविष्यसँग जोडिएको विषयमा पनि वक्ताहरूले आआफ्नो अध्ययन, अनुसन्धानसहित धारणा व्यक्त गरे। उनीहरूसँगको छलफल सहजीकरण गरेका थिए रमेश भुसालले ।
हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ हिमाललाई प्रस्तुत गरे। हिउँविहीन बनेको उक्त हिमालमा कार्बोन डाइअक्साइड र ब्ल्याक कार्बोनले कति असर पारेको छ भन्ने विषयमा वक्ता अरनिको पाण्डेले बताए ।
‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ’, उनले भने, ‘विशेषगरी दाउरा बाल्दा, इँटाभट्टा सञ्चालन गर्दा र सवारी साधनबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ ।’ उनले ब्ल्याक कार्बनले हावा तताउने र हिउँ पगाल्ने काम गर्ने जानकारी दिए। ती कार्बन २/४ दिनदेखि २/४ सातासम्म मात्र रहन्छ।जलवायु परिवर्तन एकदिनको तापक्रमसँग सम्बन्धित विषय नभई दशकौंदेखिको प्रक्रिया भएको अरनिकोले बताए । उनका अनुसार उत्पादित कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ । र, पृथ्वीका लागि खप्टिएको सिरकजस्तो बन्छ। त्यसले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ । जलवायु परिवर्तनले एन्टार्कटिका र आर्टिक महाद्वीपतिर पनि बरफ पगालेर समुद्रको सतह बढाएको उनले सुनाए ।
त्यस्तै हिउँ पग्लिएर ताल र नदी बढाउने, बाढी निम्त्याउने, वर्षा गराउने, खेतीमा असर पार्नेलगायत असरहरूबारे कुरा भयो। तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उनको तर्क रह्यो ।
जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हुँदै आएको बताउँछन् डा. महेश्वर ढकाल। उनका अनुसार सृजित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ। सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ, जलवायु परिवर्तनको मुद्दा । मूलतः कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकास उन्मुख देशहरूलाई कसरी प्रभाव परेको छर, विकसित देशहरूले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पु¥याउन सक्छन् भन्ने विषयमा बहस हुने गरेका छन् ।
‘नेपालजस्तो देश मारमा छ । भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बन उत्पादन गर्छौं । यस्तोमा हामीलाई विकसित देशहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पु¥याउनुपर्छ। त्यसका लागि आवश्यक फोरम बनेका छन्,‘ ढकालले भने ।
वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलई समस्याका रूपमा व्याख्या गरिन् । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ । ‘समयमा पानी नपर्दा, प्राकृतिक प्रकोपका कारण आम मानिस पीडित छन् । जहाँका मानिसले प्रत्यक्ष दुःख भोगिरहेका छन्, त्यहाँबाट परिवर्तन र पहल सुरु गरिनुपर्छ । त्यसमा राज्यको एवम् शक्तिमा भएकाहरूको सहयोग चाहिन्छ,’ उनले भनिन् ।
त्यस्तै हाल नेपालका स्थानीय तहमा हुने गरेका योजनाबिनाका विकास कार्यले पनि जलवायु परिवर्तनमा भूमिका खेलेको उनको तर्क छ। ‘हरेक जनप्रतिनिधि वा उनीहरूको आफन्तसँग डोजर छ । डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ,’ उनले भनिन्, ‘जङ्गल नासिएका छन् । एउटै ठाउँमा पुग्न दुईतीनवटा बाटो बनाइएका छन्, जुन दीर्घकालीन हुँदैनन् । एउटै वर्षापछि भत्किन्छ ।’
अरनिकोले जलवायु परिवर्तनका विषयलाई शिक्षा र साहित्यसँग जोड्न पर्ने कुरा राखे। आँखाले नदेख्ने विषयहरूलाई साहित्य बनाउन गाह्रो भए पनि चेतनामूलक गैरआख्यान बनाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया