काम चलाउ काठेपुल : ६ महिनापछि यातायात सञ्चालन
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

बाजुरा, १५ पुस । बाढीले बेलिब्रिज बगाएको ठाउँमा काठेपुल निर्माण भएपछि यातायातका साधान सञ्चालनमा आएको छ । साउन २५ गते आएको बाढीले बेलिब्रिज बगाएको ठाउँमा काम चलाउ काठेपुल निर्माण गरी ६ महिनापछि बल्दे–मार्तडी सडक सिधा जोडिएको हो ।
बेलिब्रिज निर्माणमा ढिला हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिनि टाटा, वाइक गुडने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताए ।
मार्तडीसम्म यातायात सञ्चालन सँगै सामान ढुवानीमा सहजका लागि काँठेपुल निर्माण गरेर मंगलबारबाट सञ्चालनमा ल्याएको हो । बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकका अनुसार काठेपुल निर्माणमा बेलिब्रिज निर्माण गरिरहेको डोजरलाई पनि प्रयोग गरिएको थियो ।
साउन २५ को बाढीले बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सम्पर्क बिच्छेद भएको थियो । खोलामा पुल नहुँदा मार्तडीसम्म जिप सञ्चालनमा आउन सकेको थिएन । खोलामा काँठेपुल बनेपछि जिल्ला अस्पताल बाजुरा बाट रिफर गरेका बिरामीलाई सिधै जिल्ला बाहिर लिन सहज भएको छ ।
खोलामा काँठेपुल बनाउँदा अब सिधै मार्तडीसम्म गाडिमा पुग्ने भएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताए । बिच बिचमा गाडी फेर्नुपर्ने झन्झट हुन्थ्यो, अब भने सहज भएको शाहले बताए । बेलिब्रिज निर्माण कार्य शुरु भएपनि केही समय लाग्ने भएको छ । बेलिब्रिज निर्माण एमके विल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी कैलालीले पाएको छ । बेलिब्रिज निर्माण कार्य सुरु भइसकेको र माघ मसान्तसम्ममा सम्पन्न हुने सडक डिभिजनले जनाएको छ ।

प्रतिक्रिया