ओलीको चुनाव गर्ने नियत नै होइन : वर्षमान पुन
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

रोल्पा, १५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा पुर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले भने, ‘प्रधानमन्त्री केपी ओलीको चुनाव गर्ने नियत नै होइन । कसरी चुनाव हुन्छ ?’
नेकपा प्रचण्ड–नेपाल समूहको विरोध सभाका लागि मंगलबार रोल्पा पुगेका उनले अबको चार महिनामा चुनाव नहुने र ओली सत्तामा नरहने पनि दावी गरे । ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारे’ उनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको भनाइ छ ।
जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न ओलीलाई सुझाव दिँदै उनले भने, ‘नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको टिप्पणी गरे । पुनले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो ।’ केन्द्रीय समितिको दुई तिहाई सदस्य आफूहरुको पक्षमा रहेको र ओली पक्षका एक सय जनाले ११ सयभन्दा बढी संख्यामा नयाँ सदस्य थप्नु अराजनीतिक भएको बताए । ‘एक सय जनाले ११ सयको संख्या थप्नु सामन्तले सयको पछाडि शून्य थपेर ११ सय बनाएको जस्तै हो’ उनले भने ।

प्रतिक्रिया