सुदूरपश्चिममा पुसे पन्ध्र : आगो ताप्दै दन्त्यकथा भन्दै मनाइँदै
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

डोटी, १५ पुस । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।
हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।
माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने, ‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।’
आजको दिन यहाँका नागरिकले वन जंगलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीयवासी शिवबहादुर कामीले जानकारी दिए । उनका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ । पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।
पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइएको डोटी उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य तथा दिपायलका स्थानीयवासी डम्बर भण्डारीले बताए ।
आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली खानेकुरो कन्दमुख लाने तथा रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीकका रूपमा लिने चलन छ ।

प्रतिक्रिया