संखुवासभामा प्रहरी र विप्लव समूहबीच दोहोरो भीडन्त
अखबार टुडे
प्रकाशित:
२०७७, १२ पुष

काठमाडौं, १२ पुस । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र नेपाल प्रहरीबीच संखुवासभामा गोली हानाहान (दोहोरो भीडन्त) भएको छ । आइतबार विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि भिडन्त भएको बताइएको छ ।
विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेको र प्रहरीले वजाफी दर्जन बढी गोली चलाएको संखुवासभा प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । सादा पोशाकका प्रहरीको टोली घरतिर खानतलासी गरेपछि राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी टोली घरमा छिर्नेबित्तिकै बाहिरबाट समूहका कार्यकर्ताले गोली चलाएको स्रोतको भनाइ छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।
गोली चलाउ“दै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायत बरामद भएको प्रहरीले जनाएको छ । यसअघि पनि त्यही आसपासमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।

प्रतिक्रिया