नेकपा विवादको प्रभाव : प्रदेश-१ का मुख्यमन्त्री राई संसदीय दलको नेताबाट बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७७, १२ पुष

काठमाडौं, १२ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको बाछिटाको प्रभाव एक नम्बर प्रदेशबाट सुरु भएको छ । आइतबार मात्रै तनि मन्त्रीले राजीनामा दिएका छन् । यस्तनै, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पार्टीको संसदीय दलको नेताबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री राईलाई नेकपाको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले बर्खास्त गरेको हो ।
यसअघि उनीमाथि आइतबार नै अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो । नेकपाको प्रचण्ड–माधव समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् । शबिनार मात्रै मख्यमन्त्री राईले आङ्बोलाई मन्त्री पदबाट बर्खास्त गरेका थिए ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

प्रतिक्रिया