युरोपेली आठ मुलुकमा कोरोनाभाइरसको नयाँ प्रकार पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७७, ११ पुष

जेनेभा, ११ पुस (एजेन्सी) । नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए । कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले बताए । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।
उनले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गरे । उनले भनेका छन्, ‘डब्लुएचओले सवै अवस्थालाई गम्भीरतापूर्वक नियालीरहेको छ ।’ यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ ।
नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ ।
हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरी सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ । सवैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया