राष्ट्र र जनताको पक्षमा मैले सबै तागत लगाउने छु : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, ८ पुष

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधिसभा पुर्नस्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार नयाँ बानेश्वरमा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि उनल यस्तो दावी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले अब सबै राजनीतिक दलसँग मिलेर जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्न आफ्नो ध्यान हुने बताउँदै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नमा मेरो ध्यान जानेछ ।’ उनले आफूमाथि चुनौती र जिम्मेवारी थपिएको समेत बताए । ‘जनताको भरोषामा सबै राजनीतिक दलसँग सहकार्य गर्दै संसदलाई जीवित राखिराख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा मैले सबै तागत लगाउने छु ।’ उनी संसद पुर्नस्थापना हुनेमा समेत विश्वास देखिए ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिमार्फत संसद विघटन गरेपछि असन्तुष्टि बनेका प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाइएको मंगलबार घोषणा गरेको थियो । सोसँगै नेता नेपाललाई नेकपाको नयाँ अध्यक्ष चयन गरिएका छन् । ओलीलाई हटाइएपछि संसदीय दलको नेतामा बुधबार प्रचण्डलाई सर्वसम्मत चयन गरेको छ ।
प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी थिए । नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।

प्रतिक्रिया