रहेनन् घलान, नेपालमा गाडी बोक्नेहरुको कथा अब इतिहासको पानामा सीमित
अखबार टुडे
प्रकाशित:
२०७७, ८ पुष

मकवानपुर, ८ पुस । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।
दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।
जीवनभर २५ गाडी बोकेका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए ।
राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।

प्रतिक्रिया