अन्ततः नेकपा विभाजनतिर !
अखबार टुडे
प्रकाशित:
२०७७, ७ पुष

काठमाडौं, ७ पुस । अन्नतः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको मोडमा पुगेको छ । आज (मंगलबार)बाट पार्टी विभाजनतर्फ जाने भएको हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्र्कालाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो ।
आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने नेताहरुले बताएका छन् । सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारी पूरा गरिसकेका छन् । राष्ट्रियसभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।
ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट बबरमहलमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्मको समिकरण हेर्दा प्रचण्ड–नेपाल समूह बहुमतमा देखिन्छ ।
चुनावी गठबन्धन गर्दै २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर नेकपा गठन भएको थियो ।

प्रतिक्रिया