नेपाल खबर

निवर्तमान पर्यटनमन्त्रीद्वारा प्रगतिविवरण पेश : ‘उड्ययन क्षेत्रमा उल्लेख्य सुधार’

काठमाडौं, ६ पुस । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकासमा उल्लेख्य सुधार भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिएका भट्टराईले सोमबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालको प्रगति विवरण सुनाउँदै यस्तो बताएका हुन् ।
उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको विषमावस्थामा पनि मन्त्रालयले नीतिगत र प्रशासनिक सुधारका काम गरेको जिकिर गरे । नागरिक उड्डयनतर्फ पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउँदै उनले भने, ‘चाहेर पनि मन फुकाएर काम गर्न र प्रभावकारी योजना अघि बढाउन सकिएन । संकुचित र नियन्त्रित ढ्रगले काम गर्नुपर्ने बाध्यता थियो, त्यसैले सोचेअनुरुप उपलब्धि भएन ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भट्टराईले २०७६ साउन १५ गते पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यतिखेर सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा गरेका उनीमाथि बढी जिम्मेवारी थियो । मुलुकको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रमा पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउने दायित्वलाई पनि आत्मसात् गरेर कार्ययोजना अघि बढाइएको पूर्वमन्त्री भट्टराईले बताए ।
पर्यटन मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा झण्डै ६० प्रतिशत भौतिक प्रगति गरेको थियो । महामारीका कारण छ महिना पूँ“जीगत खर्च हुन नसकेको र प्रभावकारीरुपमा जनशक्ति परिचालन हुन नसकेपछि मन्त्रालयले लिएको ८० प्रतिशतभन्दा बढी लक्ष्यलाई भेट्टाउन नसकिएको भट्टराईको भनाइ छ । निवर्तमान मन्त्री भट्टराईले पूर्वाधार विकास, आधुनिक उपकरण जडान र सुरक्षित उडानमा प्रगति हासिल भएको दावी गरे । युरोपेली संघले नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक पहलकदमी लिएको र अब छिट्टै नेपाल संघको सुरक्षा चासो सूचीबाट हट्ने विश्वास व्यक्त गरे ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुशासन प्रवद्र्धन, राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन तथा कुनै विषयमा छिट्टै निर्णय लिन सक्ने नेतृत्वदायी क्षमता भएका पर्यटनमन्त्रीको बिदाइ गर्नुपर्दा दुःख लागेको बताए

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top