अन्नपूर्ण सुगर मिलले किसानलाई दैनिक एक करोड भुक्तानी गर्ने
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आइतबारदेखि दैनिक रु एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो ।
मिलले दैनिक रु एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिए । उनका अनुसार गत वर्ष किसानलाई रु अठार करोड भुक्तानी गरिएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम रु सत्र करोड छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले रु चार करोड ७० लाख भुक्तानी गर्न बाँकी छ ।
सबैभन्दा धेरै बक्र्याैता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्र्याैता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई रु १६ करोड ४४ लाख ७० हजार बक्र्यौता रकम भुक्तानी गरेको बताएको छ ।
गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडाँैंमा आन्दोलन गर्दै आएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी चिनी मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड र श्रीराम सुगर मिलको रु ३५ करोड गरी पाँच चिनी मिलबाट रु ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । दुई मिलले बक्यौता रकम भुक्तानी गर्न शुरु गरे पनि अन्य मिलले भुक्तानी शुरु गरेका छैनन् ।

प्रतिक्रिया