‘राजनीतिक संकट निम्तिने खतरा’
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नयाँ तरंग उत्पन्न भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपाको विवाद उत्कर्षमा पुगिरहेको बेला आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघठनको सिफारिस गरेपछि नयाँ तरंग फैलिएको हो । यो तरंगले नेकपाको विवाद नयाँ मोडतिर गएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उक्त प्रस्तावले राजनीतिक संकट गहिरिने खतरा रहेको बताइन थालिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रस्ताव फिर्ता लिनका लागि ओलीलाई बालुवाटारमै भेट्न पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेट्ने समय नदिएको बताइएको छ । नेकपा स्थायी समितिको बैठक आज दिउँसोका लागि बोलाइएको थियो । उक्त बैठकले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता किन नलिएको भनी सोध्ने तयारी गरेको थियो । अघिल्लो स्थायी कमिटि बैठकले ओलीलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेको थियो । तर, ओलीले अध्यादेश फिर्ता लिनुको साटो प्रतिनिधि सभा नै विघटन गर्ने नयाँ प्रस्ताव ल्याएपछि नेकपाको विवाद विभाजनको बाटोमा मोडिएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको प्रस्ताव असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् । उनले लोकतान्त्रिक पद्धति र प्राप्त उपलव्धीलाई धोका दिने नियतले संसद विघटनको प्रस्ताव गैरकानुनी भएको बताएका छन् ।
यस्तै प्रतिपक्षी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघठन गर्ने सिफारिसको चर्को विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले बहुमत गुमाएपछि सत्तावादी चरित्र देखाएको उनको टिप्पणी छ ।

प्रतिक्रिया