कोरोना त्रास : पुनः निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

महेन्द्रनगर, ५ पुस । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेको थियो । यसैबेला पुनः संक्रमण दर बढ्न थालेपछि यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् ।
यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि स्थानीय तहहरु तोकिएका मापदण्ड पुरा गरेर विद्यालय सञ्चिालन गरिरहेका थिए । सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका छन् । त्यसैगरी दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।
महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।
त्यस्तै यहाँको दोधारा चाँदनी नगरपालिकामा पनि एक साताका लागि निषेधाज्ञा गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नगर क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ । सो अवसधमा अत्यावश्यक कामबाहेक सबै क्षेत्र पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले समुदायमा संक्रमण फैलिने क्रममा रहेकाले भीडभाड नगर्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया