पार्टी विभाजन हुँदैन : मन्त्री गुरुङ
अखबार टुडे
प्रकाशित:
२०७७, ४ पुष

काठमाडौं, ४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् ।
नेकपा दोलखा जिल्ला समिटीले शनिबार चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले सो धारणा राखेका हुन् । उनले भने, ‘पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनाँै । मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ ।’
उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उनको इमान्दारीबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए ।
यसैबीच सञ्चारमन्त्री गुरुङले शबिनार नै भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रंगशालाको शिलान्यास गरेका छन् । मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाले तयार पारेको ‘भीमेश्वर नगर बृहत योजना’ को समेत विमोचन गरे ।

प्रतिक्रिया