नेपाल खबर

राष्ट्रपतिद्वारा विवाहपञ्चमीको शुभकामना : सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने विश्वास

काठमाडौं, ४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।
नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।
पर्वका समयमा सामाजिक अन्तरक्रिया बढ्ने हुनाले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाहपञ्चमीको उत्सव मनाउन उनले सबैमा आह्वान गरेकी छन् । मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं् सम्बर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।
प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने तथा रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवं कथा वाचन गर्ने परम्परा रहिआएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top