प्रचण्ड र पौडेलसँग छलफलपछि अध्यादेश फिर्ता लिन ओली सहमत
अखबार टुडे
प्रकाशित:
२०७७, १ पुष

काठमाडौं, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बुधबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसँगको छलफलपछि अध्यादेश फिर्ता लिन ओली सहमत भएका हुन् ।
नेकपाका अध्यक्षसमेत रहेका ओलीले अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशन माग गर्दै नेकपा नेता भिम रावललगायतले शीतल निवासमा पु¥याएको निवेदन फिर्ता गर्न प्रचण्डसँग आग्रह गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आग्रहलाई स्वीकार गरेपछि मात्र बुधबार दिउँसो स्थायी कमिटी बैठक सुरु भएको थियो । सुरुमा प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा उपस्थित हुन अस्वीकार गरेका थिए । बैठक बस्न ढिला भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रचण्डसहित महासचिव पौडेलसहितका नेता छुट्टै छलफलमा जुटेका थिए ।
मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् । अध्यादेशको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपाकै नेताहरुले आलोचना गरेका छन् । अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुगेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।
स्थायी कमिटी बैठक बस्नुअघि बुधबार बिहान ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । बुधबार बस्ने बैठकमा गत २१ मंसिरदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा ओली र प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल हुने बताइएको थियो । तर, बुधबार त्यसबारे खाशै ठोस छलफल नभएको बताइएको छ ।

प्रतिक्रिया