विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार
अखबार टुडे
प्रकाशित:
२०७७, १ पुष

लागोस, १ पुस (एजेन्सी) । नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार गरी बन्दुकधारीले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको जिम्मा यहाँको आतंककारी समूह बोको हरामले लिएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।
बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको जनाइएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए ।
सो राज्यका गभर्नर अमिनु मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताए । उनले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताएका थिए ।
मासारीले अपहरणकारीहरुले स्वीकार गरिसकेको समाचार आएको पनि बुधबार जनाए । उनले ती अपहरणकारीहरु सरकारी खोजकर्ताहरुको सम्पर्कमा आएका र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको बताएका छन् । बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयहरुमा आफूहरुले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरुसँग रहेको बताएका छन् । सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएकै बेला यो सन्देश आएको छ ।
हराएका बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया