मौसम : काठमाडौंको तापक्रम २ डिग्री, अझै चिसो बढ्दै
अखबार टुडे
प्रकाशित:
२०७७, १ पुष


काठमाडौं, १ पुस । पुस लाग्नेवित्तिकै काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।
यसअघि मंगलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो । मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ ।
‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ’ श्रेष्ठले भने, ‘मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।’ पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया